कर्पोरेट/पर्यटन

यस्तो छ जीवित देवी कुमारीको प्रचलन र महत्व

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।

नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी घर सो क्षेत्रको एक प्रमुख आकर्षण हो ।

काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिनसक्ने बताएको किंवदन्ती छ ।

शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्कने गर्नुभएको छ । एकपटक पौष शुक्ल अष्टमीको दिन, मुख्य जात्राको रूपमा रहेको इन्द्रजात्रा, बडादशैँ, चैते दशैँ, घोडे जात्रा, सेतो मछिन्द्र जात्रा, सेतो मछिन्दनाथ स्नान हुँदा, गाईजात्राको भोलिपल्ट, पचली भैरव जात्राको समयमा र चाँगुनाराणबाट कलश ल्याउँदा कुमारी बाहिर निस्कने गर्नुभएको छ ।

कुमारीको दैनिकी

कोरोना नहुँदा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्मको समय दर्शनको हो । मध्याह्न १२ देखि ४ बजेको समय कुमारीको अध्ययन गर्ने समय हो । हाल कोरोना सङ्क्रमणका कारण अन्य मठमन्दिरमा जस्तै दर्शनमा रोक लगाइएको छ । अहिलेको कुमारीलाई कुमारी हुनुभन्दा पहिले जुन विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो सोही विद्यालयका शिक्षकले कुमारी घरमा नै आएर अध्यापन गराउने गर्नुभएको छ । हाल उहाँ स्वयम्भूमा रहेको मैत्री बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत हुनुहुन्छ । अहिले कुमारीले अन्य विद्यार्थीले जस्तै अनलाइनबाट कक्षा लिइरहनुभएको छ ।

हरेक दिन नित्य पूजाका लागि तलेजु भगवतीको पुजारीले उहाँको पूजा गर्नुहुन्छ । बिहान ९ बजेदेखि १० बजेसम्मा हिन्दू पुजारी र बौद्ध धर्म मान्ने पुजारीबाट उहाँको पूजाआजा हुने गर्दछ । उहाँले ११ बजेदेखि १२ बजेको समयमा खाना खाने तालिका छ । कुमारी घरमा उहाँको हेरविचार गर्नका लागि एउटा छुट्टै परिवार नै खटिएको छ ।

कुमारीहरु कुमारीको रूपमा कति समय बस्ने भन्ने यकिन नभए पनि तीनदेखि चार वर्षमा आउने र ११ देखि साढे ११ वर्षसम्मअर्थात् पहिलोपटक महिनावारी हुने समय अघिसम्म बस्न पाइने छ ।

पहिलेदेखि नै कति कुमारी रहे भन्ने यकिन जानकारी नरहे पनि हालको कुमारी ५५ नम्बरमा पर्ने इन्द्रजात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ । नब्बे सालको भूकम्पपछि कुमारीको गणना गर्न थालिएको बताइएको छ ।

कुमारीको मासिक तलब ५० हजार

काठमाडौँ महानगरपालिकाले कुमारीलाई मासिक तलबस्वरूप रु ५० हजार उपलब्ध गराउने गरेको छ । यो व्यवस्था २०५८ सालबाट सुरु भएको हो । त्यसैगरी पूर्वकुमारीका लागि पनि मासिक रु १५ हजार दिने व्यवस्था गरिएको छ । हाल जीवित नौ जना पूर्वकुमारी रहनुभएको छ भने उहाँहरुमध्ये पाँच जनाले विवाह गरिसक्नुभएको छ । लामो समयदेखि जीर्ण रहेकोे कुमारी घरको पनि मर्मत गर्ने तयारी रहेको छ । यसका लागि कामपाले उपभोक्ता समितिमार्फत निर्माण गर्नका लागि रु एक करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button