सेन्दाईमा एक नेपालीको सुतेकै अवस्थामा निधन
अध्ययनको शिलशिलामा दुई वर्षअघि जापान आएका एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । जापानको सेन्दाई शहरमा बस्दैआएका महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवार निधन भएको हो ।

अघिल्लो दिन सामान्य रुपमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको जनाइएको छ ।
सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाका अन्य दुईजना साथीहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि उठाउन खोज्दा हलचल नगरेको र जिउ पनि चिसो पाएपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी आएर धामीलाई अस्पताल लगेपछि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो । प्रहरीले धामीको शवको पोष्टमार्टमको काम भइरहेको बताएको छ ।
३१ वर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए । उनी सेन्दाई स्थित खान्क्यु भाषा विद्यालयमा भाषा विद्यार्थीको रुपमा आएर हाल मारुची सन्मोन विद्यालयमा अध्ययनरत थिए ।
धामीको बारेमा नेपाल स्थित परिवारलाई जानकारी गराइएको र पोष्टमार्टम लगायत प्रक्रिया सकिएपछि जापानमा नै दाहसंस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्