राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग
राष्ट्रियसभा सांसद सोनामग्याल्जेन शेर्पाले उहाँले राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन तथा त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ । बिहिबार सभाको बैठकमा सांसद शेर्पाले सो कुरा बताउनु भएको हो ।
बैठकमा सांसद शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न तथा सञ्चार सम्पर्कको व्यवस्थित प्रबन्ध गर्न माग गर्नुभयो ।
त्यसै गरी राष्ट्रिय सहमतिका आधारमा नै संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउनुपर्ने सांसद शेर्पाको भनाइ छ ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको संविधानले नागरिकलाई समानताको हकको प्रबन्ध गरेको भए पनि महिलालाई सधैँ दयामा राखिएकामा आपत्ति प्रकट गर्नुभयो । महिलाले खोजेको समानता र समावेशी हालसम्म प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेकामा गुनासो गर्नुभयो । उहाँले सूचीकृत हुन बाँकी रहेका अपाङ्गता भएका नागरिकलाई सूचीकरण गरी संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसारको प्रबन्ध गर्न माग गर्नुभयो ।
सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले स्थानीय स्तरमा पीडा पाएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्