पेट्रोलपम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड
प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर, प्रहरीभित्र यस्ता निकाय पनि छन् जहाँ तल्लोस्तरको अधिकृतले पनि करोडौं कमाउँछन् ।

नेपाल प्रहरीको प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।
पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्