न युवाहरुले लिन सके, न बुढाहरुले नै दिन चाहे
गुटका नेताको दौराको फेर समातेर आफ्नो समृद्धिको सोपान ठड्याउन मात्र उद्यत हुनु देशप्रति धोका हो
यादब देवकोटा

राजनीतिक आन्दोलनका क्रममा मुलु कको उन्नति, प्रगतिको आशासहित अग्रभागमा रहेर सकस व्यहोर्ने युवाहरु मुलुक हाँक्ने नेतृत्वमा कहिल्यै पुग्न सकेनन् र उनीहरुकै माध्यमबाट सत्तामा पुगेकाहरुले कहिल्यै युवालाई अवसर दिन चाहेनन् । परिणामतः युवाहरु आफ्नो आकांक्षा पूरा गर्न नेताहरुको, गुटको पछिलाग्न बाध्य भए ।
अहिले मुलुकका प्रमुख तीन दलभित्रका युवाहरुको अवस्था हरे यो स्पष्टै हुन्छ । उनीहरुलाई पार्टीको नीति, आदर्श, सिद्धान्त र मुलुकको आवश्यकता हैन आफ्नो समूहको शक्ति चाहिएको छ, त्यसैबाट आफ्नो उन्नति हुने ठानेर घर भत्काएर कटेरोमा बास बस्नन पुगेका छन् ।
यसमा दोष नेतृत्वको जति छ त्यति नै युवाहरुको पनि छ । उनीहरु आपसमा एकताबद्ध भएर देश र समाजका लागि हैन आपसमा विभक्त भएर गुट र व्यक्तिगत स्वार्थका लागि अघि बढ्छन् । आफ्नो स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र क्षमता सबै दाउमा राखेर व्यक्तिपूजामा तल्लिन रहने युवाहरुको प्रवृत्तिमा सुधार नआएसम्म देश अघि बढ्न सक्दैन ।
अहिले मुलुकका कुनै पनि क्षेत्र, पक्ष, विषय र सन्दर्भ जताबाट जोडे पनि, मोडे पनि स्वतन्त्रता खोज्नै सकिंदैन । स्वतन्त्रता खोसेको छ राजनीतिले र समाजका हरेक अंग अतिराजनीतिकरणको शिकार भएर सबै गुटबन्दीमा छन् । जसको परिणाम कहीं न कहीं कुनै न कुनै रुपमा दलीय राजनीतिक स्वार्थ र गन्ध घुसिहाल्छ । राजनीतिको अर्थ नेपालको सन्दर्भमा पार्टीहरु मात्रै हुन्छन् ।
जो पार्टीमा लागेको छ, नेताको पछि लाग्छ उ राजनीतिक कार्यकर्ता– अगुवा ! जोसंग राजनीतिक सोच, विवेक र क्षमता छ तर उ कुनै दलमा आबद्ध छैन भने ऊ गैरराजनीतिक ठहरिन्छ !! राजनीति गर्नुको परिभाषा नै व्यावसायिक भएपछि नेपालको अवस्था योभन्दा फरक हुने त कुरै भएन । यसलाई चिर्न, जनतामा राजनीतिक दलप्रति बढेको वितृष्णा हटाउन युवाहरु एकजुट भएर कम्तिमा आफ्नो आबद्धता भएको दलको नीति, नारा, सिद्धान्त र विचारमा प्रतिबद्ध भएर गुटबन्दी त्यागेको घोषणा गर्नसके देशमा अलिकति सुशासनको माहोल सिर्जना हुनेछ ।
तर, व्यापारिकरण भएको राजनीति र त्यो राजनीतिमा अभ्यस्तहरुमा आत्मा साक्षी राखेर साँचो कुरा बोल्ने नैतिकता छैन । राम्रोलाई राम्रो भन्नसक्ने हैसियत गुमाउँदै गएका छन् । आफ्नो सबै राम्रो र अरुको सबै नराम्रो भन्ने–मान्ने गलत संस्कृतिको विकासले स्थानीयदेखि सिंहदरबारसम्मै जरा गाडेको छ । गाउँघरका सामान्य राजनीतिक दलका समर्थकमा समेत आफूले समर्थन गरेको पार्टी र त्यसका नेताहरु सर्वगुण सम्पन्न देख्छन्, अरुमा केही गुण नै देख्दैनन् । यो विभाजनकारी र विभेदकारी सोचका कारण समाज जसरी अघि बढ्नुपथ्र्यो त्यसो हुन सकेको छैन । हाम्रो विकासको बाधक हाम्रो आफ्नै संस्कार, संस्कृति र भैरहेको अभ्यास हो भन्ने बुझ्नै चाहेका छैनौं ।
मानिस चेतनशील प्राणी भएकाले उसले आफ्नो व्यक्तित्व र वृत्ति विकासका लागि आफ्नो चेतना प्रयोग गर्नुपर्छ र त्यो चेतना केवल उसको आफ्नो लागि मात्र नभएर अरुका लागि पनि केही न केही सहयोगी हुनुपर्दछ । तर अहिले “मैखाउँ, मै लाऊ”को समय चलेको छ र त्यसका लागि राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर अवसर छोप्ने प्रवृत्ति बढिरहेको छ ।
हामी अरुले देला र खाउँला भनेर बसिरहने यो पुस्ताका ऊर्जाशील युवाहरु बधुवा पशुजस्तो जता डोर्यायो उतै जाने बनिरहने कि स्वतन्त्र अस्तित्वको खोजी गर्दै देश विकासमा अग्रसर हुने ? यो प्रश्नको उत्तर राजनीतिमा लागेका युवाहरुले नै दिनुपर्छ । कम्तिमा प्रतिस्पर्धी राजनीतिक दलसंग विमती राखे पनि आफ्नै दलका नेताहरुसंग त एकमत हुनुपर्ने हो नि ! तर हैन, त्यहाँ दलभन्दा गुट बलियो र त्यो गुटलाई मलजल गर्ने युवाहरु नै भएकाले यो पुस्ताले कहिल्यै अवसर नपाउने भयो र पायो भने पनि स्वर्थले असल काम गर्न नसक्ने भयो ।
हुन त राम्रो–नराम्रो हेर्ने दृष्टिकोणमा भरपर्छ । एउटालाई राम्रो लागेको अर्कोलाई नराम्रो र अर्कोलाई राम्रो लागेको झन अर्कोलाई नराम्रो लाग्नसक्छ । यो स्वाभाविक हो । तर, समग्रमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्दासम्म मानव समाज माथी उठ्दैन । विशेष गरी युवा पुस्ता जो राजनीतिमा सक्रिय छन् उनीहरुले यस्तो संस्कार बसाल्न सके आफ्नो पार्टी नेतृत्वलाई राम्रो काम मात्र गर्न दवाव दिनेछ जसको परिणाम मुलुक उन्नत हुनेछ । तर यहाँ आफ्नो आत्मा मारेर आत्माले नचाहँदा नचाहँदै कसैको स्वार्थका लागि झूठो बोल्नुपर्ने बाध्यता छ जुन समाज विकासको सबभन्दा खराब पक्ष हो ।
विगतमा जे भयो भयो, अब गुट वा आफ्नो हैन, देश र जनता भनेर अघि बढौं ! मुलुक संगीन घडीमा उभिएको छ- अस्थिरतासंगै प्राकृतिक र कोरोनाको महामारी छ । यस्तो अवस्थामा देशलाई सही दिशादिन हरेक दलमा रहेका युवाहरु गुटबन्दी छाडेर मुलुकको आवश्यकता अनुसार आफ्नो दलको नेतृत्वलाई सोही अनुसार अघि बढ्न दवाव सिर्जना गर्न सक्षम हुन् ! अलिकति ढिलै भए पनि युवा दिवसको शुभकामना !
प्रतिक्रिया राख्नुहोस्