“देशभक्ति र नागरिकता सम्झौताका विषय होइनन्”
पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा र सुरक्षाकर्मी नलिने डा. झाको घोषणा
प्रदेश २ का निवर्तमान प्रमुख डा. राजेश झा (अहिराज)ले आफ्नो करीब ६ महिने प्रदेश प्रमुखका रुपमा जिम्मेवारी निर्वाहका क्रममा प्राप्त सहयोग र सद्भावका लागि आभार व्यक्त गर्दै देशभक्ति कुनै सम्झौताको विषय नभएकाले सबै सचेत भएर अघि बढ्न सुझाव दिनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गरी गत फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएको बताउनुभएको छ ।
विज्ञप्तिमा उहाँले प्रदेश २ को वास्तविक समस्या पहिचान गरेको जनाउँदै यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएको उल्लेख गर्नुभएको छ ।
उहाँले अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो रहेको स्पष्ट गर्दै सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी रहेको पनि बताउनुभएको छ ।
उहाँले देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको निष्कर्ष निकाल्दै जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर भएर विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय भएको पनि जनाउनुभएको छ ।
उहाँले प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर आफूले कार्य सम्पादन गरेको जनाउँदै उहाँले निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकाले आफूले निजी सचिवालय समेत नराखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभएको छ, राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो । राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।
यसै गरी, प्रदेश नं २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामना समेत व्यक्त गर्दै आफूर्ला प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति आभार र कृतज्ञता व्यक्त गर्नुभएको छ ।
साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
डा. झाले सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा आफ्नो भूमिका सदैव रहिरहने स्पष्ट पार्दै पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा समेत गर्नुभएको छ ।
उहाँले देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र आफ्नो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकाले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा समेत गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्