एक सय १८ नेपालीको अफगानिस्तानबाट उद्धार
काबुलस्थित अमेरिकी दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत उनीहरुलाई अमेरिकी सेनाको सहयोगमा काठमाडौं ल्याइयो
तालिबान समूहको नियन्त्रणमा रहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षा र उद्धारका लागि सरकारले पहल गरिरहेका बेला आज १ सय १८ जना काठमाडौं आइपुगेका छन । उनीहरुलाई अमेरिकी सेनाले काबुलबाट कुवेत पठाइएको र त्यहाँबाट काठमाडौं आएका हुन् ।

समाचार अनुसार अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये १ सय १८ नेपालीहरू उद्धारपछि मङ्गलवार काठमाडौं आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार काबुलबाट कुवेत पुगेका उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई नेपाली सेनाको निगरानीमा काठमाडौंको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार उद्धार गरिएका नेपालीहरू एक दिनअघि कुवेत पुगेका थिए । उनीहरू मङ्गलवार बिहान जजिरा एअरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन् ।
उहाँले अब ती व्यक्तिहरूको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोना भाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्याएर होम आइसोलेशनमा जाने मिल्ने गरी व्यवस्था गरिने उल्लेख बताउनुभयो ।
उद्धार गरिएपछि काठमाडौंस्थित अमेरिकी दूताबासले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै अफगानिस्तानमा अमेरिकीहरुसंग कार्यरत नेपालीहरुलाई काठमाडौंमा सकुशल स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताएको छ । नीहरुको स्वागतका लागि काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
दूताबासले लेखेको छ- “काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो ।”
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा झन्डै १,४०० नेपाली रहेको आफूस+ग जानकारी रहे पनि स्पष्ट सङ्ख्या थाहा नभएको बताउँदै आएको छ । मन्त्रालयले अफगानिस्तानमा कार्यरत नेपालीहरूको विवरण सङ्कलनको काम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np मा व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।
यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्