अमेरिका पठाईदिन्छु रकम ठगी गर्ने वृद्ध पक्राउ
अमेरिका पठाइदिन्छु भनी ११ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका ताप्लेजुङ ५९ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । समाचार अनुसार ताप्लेजुङ फुङलिङ नपा वडा नं ९ स्थाई घर भई हाल काठमाडौंको तीनकुने बस्दैआएका ५९ वर्षीय लालबहादुर कार्कीले पाँचथर तुम्बेवाका एक व्यक्तिलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार निज कार्कीले पाँचथर तुम्बेवा गापा वडा नं ५ हाङ्गुमका ध्रुव कुमार राईसंग भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिएर फरार रहेका थिए ।
कार्कीले राईसंग अमेरिका जान चालिस लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाइदिने प्रलोभनमा पारी एघार लाख पचास हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेका थिए ।
पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि अपराध अनुसन्धान हाशाखाले जिप्रका झापाको सहयोगमा निज लाल बहादुर कार्कीलाई झापा अर्जुनधारा शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्