राजनीति

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न संसद सचिवालयलाई एमालेको पत्र

तत्काल अन्य दलमा आवद्ध नहुने, नयाँ दल खोलेर एजेण्डा मिल्नेसंग एकता गर्ने नेपालको घोषणा

सरकारले ससदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन हुने गरी अध्यादेश ल्याएपछि नेकपा एमालेले माधव कुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एक नेताले बताएका छन् । एमालेको कारबाही सदर भए नेपालसहितका सांसदको पद जानेछ ।

यो पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको र यसबारे सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गर्नुपर्छ ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ ।

संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर पनि जानकारी गराउने गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले ह्वीप उल्लंघन गरेका सांसदलाई सम्बन्धित दलले कारबाही गरी निष्काशित गर्न सक्ने व्यवस्था गरेको छ ।

संविधानको धारा ८९ मा कुनै दलले आफ्नो सांसदले दल त्याग गरेको सूचित गरेमा त्यो पद रिक्त भएको मानिने व्यवस्था छ । यही प्रक्रिया पूरा गर्न एमालेले ती सांसदहरुलाई गत साउन ६ गते स्पष्टिकरण सोधेको हो ।

पार्टी एकताका पक्षमा दोस्रो पुस्ताका नेताहरु सक्रिय नै रहे पनि नेता नेपाल पनि अलग दल खोल्न निष्कर्षमा पुग्नुभएको छ । मंगलबार आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आवद्ध नहुने बताउँदै नयाँ अभ्यासमा जाने उद्घोष गर्नुभएको छ ।

नेता नेपालले भन्नुभयो ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ, तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ । चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको छ ’ ।

आफ्ना कार्यकर्तालाई देशव्यापी रुपमा संगठन विस्तार गर्न सक्रिय हुन निर्देशन दिँदै नेता नेपालले भन्नुभयो ‘हाम्रो सामु समाजवाद छ, परिवर्तनको एजेण्डा छ । क्रान्तिकारी एजेण्डा र संकल्पका साथ जुट्नुहोस्, कमिटि बनाउन अघि बढ्नुहोस्, सदस्यताको विस्तार गर्नुहोस्, प्रत्येक वडावडामा बुझ्दै जानुहोस् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.