जन सरोकारस्वास्थ्य

तेस्रो लहरको महामारी थेग्नै नसक्ने हुनसक्छ

'म्यूटेड भेरियन्ट' समुदायमा फैलिएको आशंका, सरकार परीक्षणमा चुकेको आरोप

केही दिन अघि गृह मन्त्रालयले कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुको पुनः सूचीकृत गर्न निर्देशन दियो भने सिसिएमसीले स्मार्ट लकडाउनको प्रस्ताव गर्यो । यसको संकेत भनेको नेपालमा छिट्टै संक्रमणको तेस्रो लहर सुरु हुन्छ भन्ने हो ।

अहिले देशका शहर बजारमा भीडभाड छ, मानिसहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा ध्यान दिइरहेका छैनन् । खोपको प्रभावकारी व्यवस्थापन हुन नसक्दा खोप केन्द्रहरु नै संक्रमणको थलो बन्ने चिन्ता कायमै छ ।

अहिलेको परिस्थितिमा नियन्त्रण गरेर सुरक्षाका उपायहरु प्रभावकारी र कडाइका साथ पालना नगराउने हो भने तेस्रो लहरको महामारी थेग्न नसकिने विज्ञहरुले बताइरहेका छन् । सरकारी तहबाट भएका निर्देशन र तयारीले पनि तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको छ ।

अहिले संक्रमितको संख्या दैनिक ३ हजारभन्दा बढी छ भने निको हुनेको संख्या न्यून । त्यस्तै सक्रिय संक्रमित देशभर ४० हजारभन्दा माथी पुगिसकेको छ र अस्पतालमा थपिएका सङ्क्रमितहरुको अवस्थाले चिन्ताबढाइरहेको छ ।

इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेयले कोरोना सङ्क्रमण दरमा कमी नदेखिनु र कोरोनाको नयाँ म्युटेसन समुदायमा रहेका कारण पनि सङ्क्रमण बढिरहेको हुनसक्ने बताउनुभएको छ ।

अहिलेको अवस्थामा हप्ता हप्तामा समुदायबाट नमुना जम्मा गरेर भाइरसको नयाँ म्यूटेसन भए÷नभएको पत्ता लगाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

खोपको प्रयोगबाट कोरोना सङ्क्रमण दरलाई घटाउन सकिने भए पनि खोप केन्द्रमा नै भीडभाड रहेको र स्वास्थ्य मापदण्डको पालना नभएको कारणले पनि सङ्क्रमण दरलाई नियन्त्रणमा लिन कठिनाइ भएको उहाँको दावी छ । खोप लगाइसकेकाले स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्ने गरेको पाइएकाले पनि सङ्क्रमण दरमा कम नभएको उहाँ बताउनुहुन्छ ।

यस्तै, जनस्वास्थ्यविद् प्रा.डा. केदार बरालले कोरोना संक्रमणमा कमी नआएको हुँदा नयाँ म्यूटेड भेरियन्ट समुदायमा फैलिएको हुन सक्ने भएकाले सबै तथ्याङ्कलाई मसिनो गरी हेर्नुपर्ने, कोही सङ्क्रमितलाई फरक खालको लक्षण देखिनासाथ उक्त व्यक्तिमा भएको भाइरसको पहिचान गर्नुपर्ने भए पनि भाइरसको म्युटेसनको जाँचमा सरकार चुकेको उहाँको आरोप छ ।

यस्तै, जनस्वाथ्यविद् डा. बाबुराम मरासिनीले पनि कोरोना भाइरसको नयाँ म्युटेड भेरियन्टको बारेमा सरकारले ध्यान नदिँदा जोखिम झन् बढ्न सक्ने बताउनुभयो । अहिलेको डेल्टा भेरियन्ट बढी सङ्क्रामक भएकाले यसको नयाँ म्युटेसनहरु चाँडो चाँडो देखिनसक्ने उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि मास्कको प्रयोग र स्वास्थ्य मापदण्डको पालनामा कडाइ सँगसँगै भाइरसको म्युटेसनमा पनि ध्यान दिनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.