माधव नेपालको पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’
१४ सांसदहरुले आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिए
अन्ततः नेकपा एमाले विभाजित भएको छ । सरकारले ल्याएको अध्यादेश अनुसार २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य समेटेर माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने अन्तिम तयारी गनुृभएको छ ।

नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गर्नुभएको छ भने सो दलको चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिएको छ । पार्टी गठन गर्ने निर्णयअघि नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताको तयारी थालेको हो ।
नयाँ दल गठनको प्रक्रिया अघि बढेपछि पार्टी विभाजनका लागि चाहिने नेतासंख्या पूरा भएपछि नेपाल पक्षका १४ सांसदहरु एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको जानकारी दिंदै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाउनुभएको थियो ।
‘नेकपा एमाले समाजवादी’को संयोजकमा माधवकुमार नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्