एनआरएनए जापानले जापानवासी नेपालीहरुको स्वास्थ्य बीमा गराउने
सरल स्वास्थ्य सुविधाको अभावमा वार्षिक दर्जन बढी नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने भएको छ ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानमा रहेका हरेक नेपालीको जापानमै सुलभ स्वास्थ्य उपचार तथा अकालमा हुने मृत्युको दर बृद्धि भैरहेको अवस्थामा बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा सरल बनाउन लागेको बताउनु भयो ।
अध्यक्ष भण्डारीले वर्षेनी दर्जन बढी नेपालीहरु विभिन्न रोग लागेर अस्पताल भर्ना हुने तथा उति नै संख्यामा मृत्यु समेत हुने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रमबाट सवैलाई समेटने योजना रहेको बताउनु भयो ।
बिरामी हुँदा अस्पतालमा हुने खर्च तथा मृत्यु पश्चात सदगत कार्यमा लाग्ने सबै किसिमका खर्च बीमा कार्यक्रमले सहयोग गर्ने भएकाले हरेक नेपालीले यसबाट लाभ लिनसक्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
जापानको बीमा कम्पनीसंगको सहकार्यमा हुन लागेको बीमा कार्यक्रमका लागि नेपाली भाषामै जानकारी सहित सर्वसाधारण सवैले सहज रुपमा बीमा गर्न पाउने तयारी गरिएको छ। एनआरएनए जापानले जापानमा कोही पनि नेपाली स्वास्थ्यका कारण आर्थिक समस्यामा पर्दा अहिलेसम्म गर्दै आएको सहयोग संकलन अभियानलाई घटाउन बीमा कार्यक्रमले सहयोग गर्ने दावी गर्नुभएको छ ।
अहिले हरेकजसो नेपाली बिरामी हुँदा एनआरएनए लगायत संघसस्थाहरुले गर्ने आर्थिक सहयोगलाई व्यवस्थित गर्न बीमा कार्यक्रम प्रभावकारी रहने उहाको भनाई छ । बीमा कम्पनीसंग छिट्टै एक कार्यक्रमका बीच सम्झौता गरि स्वास्थ्य बीमा कार्यक्रमलाई अभियानका रूपमा लगिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
गत आइतबार टोकियोमा सम्पन्न कार्यसमिति बैठकले स्वास्थ्य बीमा कार्यक्रम सहित आगामी सेप्टेम्वर १९ तारिक फुकुओकामा हुने नवौं साधारणसभाको तयारीका लागि विभिन्न कार्ययोजना बारे छलफल गरिएको एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले जानकारी दिनुभयो ।