सरकारले गरेको राजनीतिक नियुक्तिप्रति प्रचण्डको असन्तुष्टि
सोमबारको मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा गरेको नियुक्तिलाई लिएर सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि पोख्नुभएको छ । राजनीतिक नियुक्तिबारे वरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई भेटेर असहमति जनाएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई भेटेर असन्तुष्टि जनाउनुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो । भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ।
बिहिबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अध्यक्ष प्रचण्डले पार्टीमा देखिएका विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको बेलामा राजनीतिक नियुक्ति गरिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको हो ।
यसअघि मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग राजनीतिक नियुक्तिलाई लिएर असहमति जनाउनुभएको थियो । पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको अवस्थामा कार्यदलको कामलाई प्रभावित गर्ने गरी भएका नियुक्ति खारेज गर्नसमेत प्रचण्डले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्