अफगानिस्तानका नेपालीलाई फिर्तीको व्यवस्था मिलाउन गृहमन्त्रीसंग माग
मानवअधिकार तथा शान्ति समाजले अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकको उद्धार र सकुशल स्वदेश फिर्ताका लागि आग्रह गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिमण्डलले आज गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानवअधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै सो आग्रह गरेको हो ।
गृह मन्त्रालयमा भएको छलफलमा आवश्यकताअनुसार अन्य मुलुकसँग समेत समन्वय र सहकार्य गरी नेपालीको उद्धार र स्वदेश फिर्तीका प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो ।
यसै गरी कोभिड–१९को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ । प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धिलगायत विभिन्न अन्तरराष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौँलागाई, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनी सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्