खेल

"नेपालमा खेलकूदको इतिहास"बारे जान्न खोज्नेहरुका लागि…

खेलकूदको परम्परा सृष्टिको सुरुवातदेखि नै भएको हो । मानिस हुन् वा पशुपक्षी सबैले चेतन वा अचेतन दुबै किसिमले आफ्नो स्वास्थ्य र मनोरञ्जनका लागि आआफ्नै किसिमले खेलकूद गरेको हामीले हामीले हाम्रा घर वरिपरी पनि देखिरहेकै छौं । तर खेलकूदको औपचारिक परम्पराको सुरुवात भएपछि विश्वमा खेलकूद राष्ट्रिय प्रतिष्ठासंग जोडिन पुग्यो ।

औपचारिक रुपमा प्रतिस्पर्धा गराएर खेलकूदको आरम्भ कहाँबाट, कसरी भयो भन्ने विषयमा स्पष्ट जानकारी नभए पनि कतिपय जानकारहरु भने सन् ४०० सुरु हुनु अघिसम्म ग्रिसेली मुलुकहरुमा अहिलेको जस्तै ओलम्पिक खेलको आयोजना हुने गरेको बताउँछन् । झण्डै १६ सय वर्ष लामो मानिएको विश्व खेलकुदको आधुनिक संस्करणको इतिहास भने धेरै लामो छैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको गठन पश्चात् विश्व खेलकूदले नयाँ मोड लियो । अहिले खेलकूद मान–दाम–नामको क्षेत्र बनेको छ ।

नेपालमा अनौपचारिक रुपमा शताब्दी अघि नै खेलकूदको शुभारम्भ भएको मानिन्छ । विश्वका अन्यत्र जस्तै यहाँ पनि खेलकूद र खेलाडीप्रतिको ‘क्रेज’ बढ्दैछ । विश्व खेलकूदमा नेपालको स्थान स्मरण गर्न लायक नभए पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा खेलकूदका माध्यमबाट आफ्नो उपस्थिति जनाउन थालेको आधा शताब्दी पूूरा भैसकेको छ ।

नेपालमा औपचारिक खेलकूदको इतिहास त्यति लामो छैन । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेदेखि मात्रै नेपालमा खेलकूदको रस पस्न थालेको हो । त्यसअघि केही घरानियाहरुको शोखमा खेलकूद टिकेको थियो । नेपालको खेलकूदको इतिहासका विषयमा जानकारी पाउन सजिलो छैन र यसको आधिकारिक दस्तावेज भेट्न मुुस्किल छ । खेलसंग सम्बन्धित निकायमा पनि यसको कागजात उपलब्ध छैन ।

यस्तोमा निकै मेहेनत गरेर साहित्यकार महेन्द्र चालिसेले “नेपालमा खेलकूदको इतिहास” सार्वजनिक गर्नुभएको छ पुस्तकका रुपमा । अपुरा प्रमाणहरुका वावजूद आधादर्जन बढी साहित्यिक कृति सार्वजनिक गरिसक्नुभएका लेखक चालिसेले तीन दशकभन्दा अघिदेखिको योजना बल्ल सार्थक हुन पुगेको छ ।

२०४६ सालमा राष्ट्रिय खेलकूद परिषद्मा प्रचार–प्रसार अधिकृतका रुपमा जागीरे जीवनमा तत्कालीन शिक्षा तथा खेलकूद सहायक मन्त्री क्षेत्रप्रताप अधिकारी र खेलकूद परिषद्का तत्कालीन सदस्यसचिव इन्दुबहादुर शाहीको विशेष आग्रहमा चालिसेले नेपालमा खेलकूदको इतिहास खोतल्न सुरु गर्नुभयो । तर, त्यसले मूर्तरुप नलिंंदै मुलुकमा भएको राजनीतिक परिवर्तन र त्यो परिवर्तनपछि खोसुवामा परेपछि नेपालमा खेलकूदको इतिहास उतिबेलै सार्वजनिक गर्ने योजना विफल भयो ।

समयले कोल्टे फेर्दै जाँदा अहिले आएर चालिसेलाई आफ्नै जन्मस्थान रहेको नगरपालिकाले साथ दियो । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा पुस्तकले साकार रुप लियो । मेयर सन्तोष चालिसे, सोही नगरपालिकाका ९ नं. वडाध्यक्ष राजीव थापा तथा पुस्तक प्रकाशन उपभोक्ता समितिका अध्यक्ष राजेश थापाको विशेष मेहेनतले २०७७ सालमा पुस्तक सार्वजनिक हुन पायो ।

पुस्तकले नेपालको खेलकूदको इतिहासलाई धेरै हदसम्म उजागर गर्ने जमर्को गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता, प्राप्त पदकका साथै देशभित्रका खेलकूद गतिविधिहरुलाई समेटे खेलप्रति रुची राख्नेहरुका लागि गतिलो खुराक बनेको छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितादेखि औपचारिक खेलकूद संघको गठन र प्रतिस्पर्धा अनि राष्ट्रिय खेलकूद प्रतियोगिताहरुको इतिहास पुस्तकमा समेटिएका छन् । एक किसिमले खेलप्रति रुची हुनेहरुका लागि यो पुस्तक निकै गतिलो खुराक बनेको छ भने खेलकूद अध्ययन–अध्यापन गर्नेहरुका लागि पनि एउटा राम्रो सामग्री बनेको छ । यति हुँदाहुँदै पनि पुस्तकमा समेटिनैपर्ने कतिपय विषयहरु भने छुटेका छन् ।

सायद पुरानो संकलन भएर पनि होला क्रिकेट, प्याराग्लाइडिङ, साइक्लिङ जस्ता साहसीक खेलहरुलाई समेट्न सकिएको छैन । आगामी संस्करणमा यी खेलहरुलाई समेटिने आशा गर्न सकिन्छ । किनभने क्रिकेटको आधुनिक संस्करण टी– २० को विश्वकप नै नेपालले खेलिसकेको छ भने अहिले एकदिवसीय मान्यता प्राप्त छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा लेखक स्वयं प्रकाशक रहेको पुस्तकको मूल्य तोकिएको छैन । पाठकहरुले नगरपालिका र लेखक स्वयंसंग सम्पर्क गर्न सक्नुहुनेछ । केही कमजोरी जहाँ पनि हुन्छ र यसलाई अन्यथा नलिइकन भन्नैपर्छ आम खेलप्रेमीहरुका लागि लेखक चालिसे धन्यवादका पात्र बन्नुभएको छ ।

– यादब देवकोटा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.