सामाजिक सञ्जाल : सदुपयोगले विकास, दुरुपयोगले विनाश
सामाजिक सञ्जालले मानिसको जीवन सहज पनि बनाएको छ र कष्ट पनि दिएको छ । यसको सदुपयोग र उपयोगममा थोरै मात्र सचेत हुने हो भने सामाजिक सञ्जाल ज्ञान र सीपको स्रोत पनि बन्नसक्छ ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा आएका विषयवस्तुहरुबाट सिकेर व्यवसायी बन्नेहरु बढ्दै गएका छन् । पछिल्लो समय खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले युटुबबाट सिकेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभएको छ ।
१६ वर्षको उमेरमा एसइईमी राम्रो ग्रेडमा उत्तीर्ण हुनुभएका मिलन वैदेशिक रोजगारीको तयारीमा रहे पनि उहाँलाई आफ्नै गाउँमा केही गर्ने सोच पलायो र सुरु भयो सामाजिक सञ्जालमार्फत सीप सिक्ने जाँगर ।
सोही जाँगरले उहाँलाई १९ वर्षको उमेरमै सफल व्यवसायी बनायो । युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी उहाँको छ ।
सामाजिक सञ्जालबाट सीप सिकेर व्यवसायी बन्ने मिलन एक्ला पात्र हुनुहुन्न । केही समयअघि सुदूरपश्चिमका महिलाहरुले टिकटकबाट पोतेका विभिन्न किसिमका सौन्दर्य सामग्री बनाउने सीप सिकेर व्यवसायी बनेका समाचार आएको थियो ।
त्यस्तै युटुबबाट सिकेर मेसिनरी औजार बनाउनेहरुको सफलताका कथा पनि प्रशस्तै रहेका छन् । सामाजिक सञ्जाल सदुपयोग गरे विज्ञान, दुरुपयोग भए विनाश भन्ने तथ्यलाई सबैले मनन् गर्नुपर्छ ।
भाषा सिक्ने, विश्वका बारेमा जानकारी लिनेदेखि सीप र ज्ञान प्राप्त गर्न सहज बनेको सामाजिक सञ्जालले जीवन जति सहज बनाएको छ, यसको दुरुपयोगबाट भने डरलाग्दा नतिजा निस्किएका छन् ।
कतिको ज्यान गएको छ भने, कतिको घरपरिवार भताभुंग भएको छ, दुरुपयोगमा लाग्नेहरु हजारौं जेलजीवन बिताइरहेका छन् । अहिले पनि दैनिकजसो सामाजिक सञ्जालबाट ठगी गर्ने, चरित्र हत्या गर्ने, यौन दुव्र्यवहार गर्नेहरु पक्राउ परेका समाचार सार्वजनिक भैरहेका छन् ।
वैदेशिक रोजगारी होस् वा अन्यत्र सामाजिक सञ्जालको दुरुपयोग गरी ठग्ने, चरित्र हत्या गर्ने, भयदोहन (ब्ल्याकमेल) गर्ने जस्ता कुकृत्यहरुको बीचमा मिलन जस्ता युवाहरुले गरेको उपलब्धि सबैको सिकाईको विषय बन्नुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्