जन सरोकार

भर्चुअलमा सीमित हाँस्यव्यंग्य प्रहसन

कोरोना कहर हुँदैनथ्यो भने यतिबेला काठमाडौँको राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठान र राष्ट्रियसभा गृहमा कलाकारले साताव्यापी रुपमा आआफ्नै शैली र विशेषतामा गाइजात्राको फरक–फरक बाँन्की प्रस्तुत गरिरहेका हुन्थे ।

पछिल्ला दुई वर्षमा भने गाइजात्राको अवसरमा आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्रम सेलाएको छ । सरकारले सार्वजनिकस्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएको छ । निषेधाज्ञा धेरथोर बाँकी नै छ । सोही कारण सार्वजनिक कार्यक्रम हुने अधिकांश स्थान सुनसान छन् ।

पञ्चायतकालमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेलजस्ता स्थापित र चर्चित हाँस्यकलाकारले गाईजात्राको अवसरमा आफ्नो प्रस्तुतिमार्फत सरकारको काम कारवाही र सामाजिक विषयमा व्यङ्ग्य गर्दै आउनुभएको थियो । त्यो क्रम लामो समयसम्म जारी नै थियो ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावमा परेजस्तै सार्वजनिक स्थानमा हुने गाईजात्रा कार्यक्रम पनि ओझेलमा परेको छ । सोही कारण केही कलाकार श्रव्यदृश्य माध्यममा आकर्षित भएका छन् । स्थापित कलाकार मनोज गजुरेलगायतले भर्चुअलरूपमा नै गाईजात्राको अवसरमा आफ्नो प्रस्तुतिलाई निरन्तर अगाडि बढाउनु भएको छ ।

गत वर्षजस्तै यस वर्ष पनि गजुरेलको समूहले ‘२०७८ सालको गाईजात्रा’ कार्यक्रम सञ्चालन गर्नुभएको छ । “अझै पनि कोरोनाको कहर बाँकी छ, हसाँउने रमाउने रहर बाँकी छ,” भन्ने नाराका साथ आयोजित भर्चुअल गाईजात्रामा गजुरेलले यसपटक प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रसियाली राष्ट्रपति भ्याल्दिमिर पुटिन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको क्यारिकेचर गर्नुभएको छ । अघिल्ला वर्षमा गजुरेलले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको क्यारिकेचर गर्नुभएको थियो ।

यस्तै, हाँस्य विधामा आफूलाई स्थापित गर्नुभएका कलाकार सुरेन्द्र केसी, हिमेश पन्त, सुमन कार्की, सुवोध गौतम, राजा राजेन्द्रका फरकफरक प्रस्तुति दिनुभएको छ । लोकगायक पशुपति शर्माको लोक शैलीको व्यङ्ग्यले धेरैको मन जितेको छ ।

हाँस्यव्यग्य कवि शैलेन्द्र सिङ्खडाका शब्दमा परम्परागतरूपमा गत वर्षजस्तै टेलिभिजनमार्फत गाईजात्राका अवसरमा दर्शकलाई आफूले मनोरञ्जन गराउने र सामाजिक विकृतिमाथि प्रहार गरिएको छ । उहाँले ‘प्रतिज्ञा’ शीर्षकको व्यग्य कविता प्रस्तुत गर्नुभएको छ । कवयत्री जयन्ता पोखरेलदेखि शिवशङ्कर रिजाल, रवि डङ्गोल, पूर्ण थापाको प्रहसन र गायक एवम् सङ्गीतकार यम श्रेष्ठको प्यारोडी गीतले भर्चुअल गाईजात्रालाई पनि विशेष बनाएको छ ।

श्रव्य दृश्यका माध्यमबाट आयोजना गरिएको गाईजात्रा विशेष कार्यक्रमलाई दर्शकले विशेषरूपमा मन पराइदिएको आयोजकको दावी छ । गजुरेलको गाईजात्रा गजुरियल यूट्यूब च्यानल र एपी वान टिभले प्रसारण गर्दै आएका छन् ।

यस्तै, यही पर्वको अवसरमा नै राजकुमार कुँवर र गोविन्द दुलालले पनि गाईजात्राको अवसरमा भर्चुअलरूपमा नै गाईजात्रे प्रस्तुति सार्वजनिक गर्नुभएको छ । त्यसमा राजनीतिकदेखि सामाजिक विकृतिमाथि व्याङ्ग्य गरिएको छ । अर्का लोकप्रिय कलाकार दमन रुपाखेतीले ‘छताछुल्ल, गाईजात्रा २०७८’ शीर्षकमा गाईजात्रे प्रस्तुति सार्वजनिक गर्नुभएको छ । लोक गायिका बबिता बाँनिया जेरीको ‘जेरी वाचन भाग ६’ पनि यस वर्षको अर्को प्रस्तुति हो । कलाकार कमल गाँउले पनि २१औं गाईजात्रा भन्दै भर्चुअल गाईजात्रा सार्वजनिक गर्नुभएको छ ।

विगतका वर्षमा जस्तो धेरै श्रव्य दृश्य सामग्री सार्वजनिक नभए पनि कोरोना कहरका बीचमा केही कलाकारले आफ्नो कलाकारितामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गर्नुभएको छ । अधिकांश सामग्रीमा राजनीतिक, सामाजिक, सांस्कृति क्षेत्रमा देखिएको विकृतिमाथि प्रहार गरिएको छ । यस्तै, वैकल्पिक मिडियाको नाममा व्यक्तिगत गोपनियतासमेतको समेत ख्याल नगरी यूट्यूमा दर्शक कमाउने होडमा दौडिएका यूटुयूब सञ्चालकमाथि कलाकारले राम्रै व्यग्य कस्नुभएको छ । समाजसेवाको नाममा मौलाएको अराजकता र विकृतिलाई पनि कलाकारको प्रहार चोटिलो देखिएको छ ।

यस वर्ष फाट्टफुट्टरूपमा श्रव्यदृश्यका माध्यमबाट गाईजात्रे प्रस्तुति सार्वजनिक भएपनि स्थापित अन्य कलाकारले भने खासै चासो देखाउनु भएन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको कुनै पनि प्रस्तुति दर्शकले देख्न पाएनन् । ‘शम्भु दाहाल’को गाईजात्रे क्यासेट सुनेर हुर्किएको पुस्ताले सोहीशैलीको प्यारोडी र व्यग्य भरिएको सामग्री सुन्न पाएको छैन ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो गाईजात्रा पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको बताइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाइने गरिन्छ । भौतिकरूपमा ठूला हलमा गरिने गाईजात्रा कार्यक्रम प्रभावित भएपछि कलाकार मनोज गजुरेलका शब्दमा भर्चअलरूपमा नै सही भनेर गाईजात्राको अवसरमा राजनीतिक, सामाजिक क्षेत्रका विकृतिमाथि व्यङ्ग्य कसिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button