जन सरोकार

जहाँ सरकारी शिक्षकले छोराछोरी निजी विद्यालयमा पढाए कारबाही हुन्छ…

दैलेखका एउटा गाउँपाललिकाले सायद देशभरमै पहिलो निर्णय गरेको होला जहाँका आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिन्छ । जिल्लाको गुराँस गाउँपालिकाले तीन जना शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई जनही रु १० हजार जरिवाना गरेको हो ।

गाउँपालिकाको विसं २०७५ चैत्र २५ गते निर्णय गर्दै गाउँपालिका भित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।

सो निर्णयमा गाउँपालिका भित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने यदि त्यसो गरेको पाइएमा रु १० हजार जरिवाना गर्ने उल्लेख छ । उक्त निर्णयको पालना नगरेको भन्दै सो निर्णयअनुसार उनीहरूलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । विद्यालयमा कार्यरत शिक्षकहरू पद्मबहादुर नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्दले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै रु १० हजार जरिवानास्वरूप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।

विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही रु १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कार्यपालिका बैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाएको भए पनि ती शिक्षकले अटेर गरेकाले जरिवाना तोकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.