जल/वातावरण

धुलिखेल, विराटनगर र धनगढीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । बुधबार विहान पाटन अस्पताल र नेपालगञ्ज मडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु भएको थियो भने दिउँसो विभिन्न जिल्लामा थप ३ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको मंगलबारराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना हुनुभएको झाले बताउनुभयो ।

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना सङ्क्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ ।

यसैगरी काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा झाले बताउनुभयो । यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै गरी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उहाँको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताउनुभयो ।

फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उहाँलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उहाँहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।

त्यसै गरी महोत्तरीका कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति संक्रमितको मृत्यु भएको हो ।

ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।

मंगलबार राति नै बिराटनगरकी एक महिलाको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा रहेको बिराट मेडिकल कलेजमा बिराटनगर–११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.