अर्थ

एक लाख रुपैयाँ नाघेको सुनको मूल्य एक सातादेखि लगातार घट्दै

अघिल्लो सातासम्म नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेकोमा पछिल्लो एक सातादेखि निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।

त्यसमा केही गिरावट आए पनि गत बुधबार प्रतितोला रु एक लाख ४०० मा झरेको पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले घटेको छ ।

महासङ्घका अनुसार बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ ।

मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।

सम्बन्धित खबर

Back to top button