प्रदेशप्रदेश १

एमाले सचिव आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्री

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित भएपछि दुई प्रदेशका मुख्यमन्त्रीहरु फेरिएका छन् । यसअघि वाग्मती प्रदेशमा डारमणिको स्थानमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुभयो भने आज प्रदेश १ मा शेरधन राईको स्थानमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

राईले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको हो । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेताबाट राईले राजीनामा दिएपछि आचार्य नयाँ दल नेता चुनिनुभएको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले एकल बहुमतप्राप्त दलका नेताको हैसियतमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो ।

अहिले एकल बहुमत कायमै रहे पनि पार्टी विभाजन भएपछि प्रदेश १ बाट माधवकुमार नेपालको पक्षमा कति सांसद गएका छन् यसको टुंगो लागेपछि मात्रै मुख्यमन्त्री आचार्यको सत्ता सुरक्षित हुनेछ ।

यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुहुने छ । यद्यपि नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button