एमाले केन्द्रीय कमिटी बैठक जारी
माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ता गरेपछि नेपालको साथमा नगएर पार्टी एकताकै पक्षमा रहेका नेताहरुबीच भएको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक चलिरहेको छ ।

आन्तरिक समस्या समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन लगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बसेको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठकका लागि पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई नेकपा (माओवादी केन्द्र)को एकतापूर्व (२०७५ जेठ २) कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्