अर्थ

एक महिनामै एक खर्ब ५० अर्ब बढीको आयात, २० अर्ब ७६ करोड निर्यात

नेपालको वैदेशिक व्यापारमा आयातको मात्रा भीमकाय हुने गरेको छ भने निर्यात न्यून । चालु आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ भने २० अर्ब ७६ करोड बराबरको निर्यात भएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत आव २०७७/०७८ को पहिलो एक महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस्तै चालू आवको पहिलो एक महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

गत आव २०७७/०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तै गरी नेपालले साउनमा मात्रै रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा रु ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ । एक महिनामा रु १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट रु ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

१०२ देशबाट आयात

एक महिनाका अवधिमा १०२ देशबाट रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट रु ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । एक महिनाको अवधिमा भारतमा रु १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा रु आठ करोड बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button