सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
गर्भवती महिलामा कोरोना संक्रमण भए उनको गर्भमा रहेको बच्चामा संक्रमण हुन्छ कि हुँदैन भन्ने बहस चलिरहेका बेला बाँकेमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ । शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उहाँको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उहाँलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्