नास्टले गरेको अनुसन्धान निष्कर्ष- ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन
कोरोना भारस संक्रमणको महामारीसंगै विश्वव्यापी रुपमा फस्टाएको व्यापारमध्ये एक हो सेनिटाइजर । नेपालमा कोरोना संक्रमण देखिएसंगै यसको व्यापक अभाव भएपछि ४० वटा कम्पनीले सेनिटाइजर उत्पादन थाले तर यिनका गुणस्तरतिर भने कसैको ध्यान गएन । यसबीचमा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) २१ किसिमका सेनिटाइजरको नमुना लिएर गरेको माइक्रोबियल एक्टिभीटीको परीक्षणमा ४५ प्रतिशत गुणस्तरहीन रहेको पाइएको छ ।
समाचार अनुसार परीक्षणमा स्वदेशी सहित भारत र चीनको उत्पादन पनि समावेश थियो । तीमध्ये निम, घिउकुमारी र लसुनलगायत मिसाएर बनाइएको सेनिटाइजर प्रभावकारी देखिए पनि गन्हाउने तथा लामो समयसम्म हातमै रहिरहने समस्या देखिएको छ ।
नास्टको विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा यस्तो नतिजा देखिएको हो । त्यस्तै हर्बल उत्पादन प्रभावकारी देखिए पनि ठूलो मात्रामा उत्पाादन गर्दा ध्यान दिनुपर्ने र अल्कोहलको मात्रा बढी भएको सेनिटाइजर प्रभावकारी हुने सुझाव दिइएको छ ।
त्यसो त नास्टले सेनिटाइजरको अनिवार्यता अस्वीकार गरेको छ । रोगका कारक सूक्ष्मजीव हटाउन वा मार्न सेनिटाइजर नै नभई नहुने भन्ने होइन । साबुनपानीले मिचीमिची हात धोए पनि हुन्छ जहाँ पानी पाइँदैन त्यहाँ सेनिटाइजर विकल्प हो । तर त्यसको गुणस्तरबारे जानकार हुनैपर्छ ।
अर्कोतिर नास्ट स्वयंले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार घरेलु मदिराको प्रयोग गरेर तयार पारेको सेनिटाइजर पनि बजारमा पाइएका नमुनासँगै परीक्षण गर्दा त्यसको प्रभावकारिता राम्रो पाइएको नास्टको भनाइ छ । औषधि व्यवस्था विभागले हाल ४० वटा स्वदेशी उद्योगलाई सेनिटाइजर उत्पादन गर्न अनुमति दिएको छ । विभागले स्वदेशमा उत्पादित सेनिटाइजरको गुणस्तरबारे बुझ्न उद्योगहरूमा अनुगमन गरे पनि कोरोना महाव्याधिसँगै भारतलगायत विभिन्न मुलुकबाट आयातित सेनिटाइजरले स्वदेशी उत्पादनभन्दा धेरै बजार लिएका छन् । तिनको गुणस्तरका सवालमा भने विभाग मौन छ ।
यसअघि गत वैशाखयता मापदण्ड पूरा नगरी सेनिटाइजर उत्पादन र बिक्री गर्ने तीनवटा उद्योगलाई विभागले कारबाही गरेको छ । वीरगन्ज र उपत्यकाका दुईवटा उद्योग कारबाहीमा परेका हुन् । केही व्यवसायीले मिथानोल हालेर सेनिटाइजर बनाएको पाइएपछि विभागले कारबाही गरेको थियो । त्यसपछि विभागले अनुगमन गरेको छैन ।
प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कन्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउन्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।
सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दार्का मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजरमा कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम छ ।
प्रतिक्रिया राख्नुहोस्