राजनीति

मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।

उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ ।

यसैबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो ।

सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिनुभयो । एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उहाँले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.