भात सर्केर बेहोस महिलाको ९ वटा अस्पतालले भर्ना लिएन- उपचार नपाएरै मृत्यु
कोरोना भाइरस संक्रमणको त्रासका कारण अस्पतालहरुले सामान्य बिरामीको समेत उपचाउपचार गर्न आनाकानी गर्दा सामान्य घटनाबाटै मानिसको मृत्यु हुने गरेको छ । यसै क्रममा उदयपुरमा एक महिलाको उपचार नपाएर मृत्यु भएको छ । शनिबार साँझ खाना खाने क्रममा भात सर्केर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना लिन नमानेपछि आइतबार उपचार अभावमा मृत्यु भएको हो ।

शनिबार साँझ खाना खाने क्रममा भात सड्केपछि उनी बेहोस भएपछि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारका लगिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको प्रारम्भिक उपचार गरेर थप उपचारका लागि विराटनगर पठाइएको थियो । तर, विराटनगरका मोरङ सहकारी, म्याक्स, न्यूरो, ग्रिनक्रस,लाइफ र्गाड, विराट नर्सिङ्ग (विराटनगर हस्पिटल), विराट मेडिकल कलेज, र कोसी अस्पतालमा पुर्याइए पनि एम्बुलेन्सबाट नझारी अस्पतालको गेटबाट फर्काइदिएको एम्बुलेन्स चालक दिपक खत्रीले बताए ।
धेरै अस्पतालहरुले बिरामीको अवस्था बुझ्दै नबुझी अस्पताहरुले गेट बाहिरबाटै फर्काइदिए पनि अन्तिममा गोल्डेन अस्पतालले भर्ना त लियो तर बिरामीको अवस्थाा गम्भीर भएकाले आईसीयूमा राख्नु पर्ने र अस्पतालको आईसीयू खाली नभएको भन्दै अन्यत्र लैजान भन्दै बिरामीलाई निकालिदिएपछि उनको मृत्यु भयो ।
रातभरी ९ वटा अस्पताल चार्हादा पनि विराटनगरका अस्पतालहरुले उपचार गर्न नमानेपछि ती महिलालाई आइतबार बिहान ८ बजे घर ल्याइएको थियो । घर ल्याएको ३ घण्टापछि ती महिलाको मृत्यु भएको थियो ।
एम्बुलेन्स चालक खत्रीका अनुसार कोरोना संक्रमण बढदै गएको भन्दै पहिले पीसीआर परीक्षणपछि नतिजा नेगेटिभ भएमात्रै बिरामी अस्पताल ल्याउनु भनेका थिए । त्यस्तै सरकारी अस्पताल कोसी अस्पतालले पनि १५ दिन क्वारेन्टाइनमा बसेको प्रमाण भएमात्रै बिरामी भर्ना गरेर उपचार गर्ने भन्दै गेटबाट भित्र जानदिएन ।
प्रतिक्रिया राख्नुहोस्