बिचार

ज्ञान, भक्ति, कर्म र प्रकृति संरक्षणमा श्रीकृष्ण उपदेश

गोवद्र्धन पर्वत उठाउनेदेखि कालीय दमन र पाण्डवलाई साथ दिनुको रहस्य यस्तो छ

आज श्रीकृष्ण जन्माष्टमी विश्वभरका हिन्दुहरु भगवान कृष्णको पूजा आराधना गरी मनाउँछन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण कृष्ण मन्दिरहरुमा भक्तजनको उपस्थिति बन्देज गरिए पनि घरघरमा पूजा रोकिएका छैनन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

विश्वमा ज्ञान, भक्ति, धर्म, शान्ति र सहिष्णुुताको सन्देश प्रवाह गर्ने श्रीकृष्ण पूर्णावतार थिए । आफैं शक्तिशाली भएर पनि श्रीकृष्णले कहिल्यै अहंकार गरेनन् । अहंकारी तथा अधर्मको बिरुद्धमा लडिरहे, समाजमा समानता र सुशासनको वकालत गरिरहे । धर्म पालना गराउन सबैलाई प्रेरित गरिरहे ।

कुरुक्षेत्रमा अर्जुनलाई दिएको दिव्य ज्ञान (गीता) अहिले संसारमा सबभन्दा बढी पढिने, सबभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ हो । श्रीकृष्णले शक्तिको हैन शान्तिको अनि अहंकारको हैन सालिनताको पूजा गर्न सिकाए । आफ्नो शक्तिले उन्मत्त देवराज इन्द्रलाई तह लगाउन बालककालमै श्रीकृष्णले कान्छी औंलाले गोवद्र्धन पर्वत उचालेर गोकुल र गोकुलबासी बचाएको सन्दर्भ छ । इन्द्रको अहंकार ध्वस्त गर्न श्रीकृष्णले उनको साटो गोवद्र्धन पर्वतको पूजा गर्ने पद्धति विकास गरेर गोकुललाई बचाएनन् मात्रै प्रकृतिपूजाको प्रचलन बसाए । पर्वतीय संस्कृतिको विकासको सुदृढ सम्भावनाका लागि पनि जग हाल्ने सोचाइ पाइन्छ ।

यस्तै प्रदूषित भएको यमुनाको पानी शुद्धिकरण गरेर पिउनलायक बनाउन कालीय दमनको घटनालाई उस्तै रोचक ढंगले प्रस्तुत गरिएको छ । यो सबै पृष्टभूमि केलाउँदा जलप्रदूषण गरेर जलजन्य प्रकोप पैदा गर्ने विषाक्तकारक जीवाणु र अतिवृष्टिका कारण र कारकतत्वबारे ज्ञान दिन र बाढी, पैरो र डुबान समस्या समाधानबारे थोरबहुत संकेत भागवतका यस्ता मिथकीय आख्यान–उपाख्यानमा पाइन्छन् । नीति भनेको यस्तै हुनुपर्छ । यो सन्देश पनि यस्ता प्रकरणमा भेटिन्छन् । अर्थात् प्रदूषित जललाई स्वच्छ पार्न जलप्रदूषण गर्ने जीवाणुको पहिचान र बाढी, पहिरो र डुबानबाट बच्ने तरिकाको नै वर्णन श्रीमदभागवतमा भएको मानिन्छ ।

पूर्वीय सभ्यताका यस्ता विविध पक्षको संस्कृति लोप गरेर उपभोक्तावादले प्रकृति नै कुपित हुने गरी प्राकृतिक संशाधनको क्रुरतम् शोषण वा दोहन गरेको हुनाले वातावरण विग्रेको छ । कुनै पनि नदीनाला, खोलाखाल्सीको दायाबायाँको निश्चित भूमिमा अतिक्रमण गर्नु पनि प्रकृति कुपित हुने कार्य हो भन्ने पूर्वीय मान्यता छ ।

हिमाली क्षेत्र होस् वा पर्वतीय क्षेत्र, जथाभावी अतिक्रमण गर्ने मानिसको स्वार्थी प्रवृत्तिले पनि यो क्षेत्र प्रदूषित हुँदै गएको छ । प्राकृतिक वनजंगलको विनास र झाडी, बुट्यान र पृथ्वीको हरितपट्टि नै समाप्त पारेर भए गरेका अतिक्रमणले पनि वातावरणीय सन्तुलन खुस्केको छ ।

आज मानिसको जीवन सरल छैन, बाँच्नका लागि चाहिने भौतिक पदार्थको पर्याप्तता त भयो तर यसले जीवन झन जटिल बनाइदियो यसको दोष यो कालखण्डका कर्ताधर्तामै थेग्रिन्छ । निःशुल्क पाइने हावा र पानी समेत शुद्ध नपाइने स्थिति आयो । पूर्वले जल नै जीवन हो भन्ने मान्यता स्थापित गरेको छ । ‘पयः कीलालममृतं जीवनम् भुवनम् वनम्’ यस्ता २७ नाम जलका छन् । पानीलाई मेघपुष्पको संज्ञा दिइएको छ । यसैलाई घनसर पनि भनिन्छ । अर्थात् जल नै नीर क्षीर दुबै हो ।

यसैले सृष्टिको सबै जीवन्त तत्वमा जलको भूमिका छ । जलमै जीवन उत्पत्ति भएको वर्णन छ । जल नै जीवन हो, यसैले जलमण्डलको स्वच्छताबारे ऋषिमुनि र चिन्तकहरूले विशद् वर्णन मात्र नगरी जलतत्वको अन्तरनिहीत गुढ रहस्यसंग नै साक्षात्कार गरेर जललाई जीवन मानेका छन् । जलमै जीवको उत्पत्ति र जलमै प्रलय हुने शास्त्रीय वर्णन छ ।

यस्तै वायुमण्डलको विशेषताको वर्णन मात्र पूर्वले गर्दैन । प्राणवायुका बारेमा जलतत्वकै सदृश्य वायुतत्वको पनि अन्तरनिहीत गुणतम् रहस्यसंग पूर्वीय जीवनले साक्षात्कार गरेको छ । प्राणवायु लगायतका ४९ वायुहरूको शुद्धता र वायु प्रदूषणका कारकतत्व र कारणबारे पूर्वीय जीवनशैलीमा अभ्यस्त पुर्खाहरूले प्रामाणिक अभिलेख नै उत्तराधिकारमा आफ्ना सन्ततिलाई दिएर गएका अनेक सूत्रवद्ध ज्ञान यत्रतत्र पाइन्छन् ।

वैदिककालीन मन्त्रद्रष्टाहरूले ‘स्वस्ति प्रार्थना गर्दा ॐ पयः पृथिव्यां पयऽऔषधिषुपयो दिव्यन्तरीक्षेपयोधा पयस्वती प्रदिश– सन्तु मह्यम’ भनेर प्रार्थना गरेका मन्त्र अहिले उच्चारण गर्नसक्ने जिभ्रोसम्म उनैका सन्ततिको फट्कारिन सक्दैन । तर पनि प्रतिवर्ष आकर्षक नारासहित शान्ति कामना गरेर पर्यावरण दिवस मनाउने औपचारिकता पूरा गरिन्छ । सभ्यताको जननी मानिएका नदी अहिले मृत्योन्मुख छन् ।

बाग्मती सभ्यता कालकवलित भैसकेको छ । बाग्मती, विष्णुमती लगायतका नदीहरू सजीव नदी हुन् । यहाँ विचरण गर्ने जलचरको यसबीचमा ठूलो वंशविनास भएको छ । ढलमती बनेका नदीनाला र मरुभूमिकरण हुँदै गएको धर्ती तथा प्रदूषित भएर गएको वायुमण्डल र तनावग्रस्त भएर असन्तुलित हुँदैगएको मानवीय जीवनशैलीको विश्रृङ्खल जीवनचर्या श्रीकृष्णको उपदेशको अनुसरणबाटै रुपान्तरित हुनेछ ।

आजभोलि संविधानमा समावेशी, समानुपातिक र समाजवादी जे भनिए पनि हजारौं वर्षअघि नै पूर्वीय समाज समाजवादी थियो । भ्रष्टाचार दण्डनीय थियो, प्राकृतिक स्रोतको दोहन अपराध मानिन्थ्यो । नदी, पर्वतको संरक्षण प्रमुख दायित्व थियो । तर आजभोलि सबैको आँखा नदी र जंगलमा परेको छ पैसा कमाउन । जसले गर्दा प्रकृति कुपित भएको छ । विनाशका मात्रा र यात्रा बढ्दो छ । यी सबै हुनाका कारण मानिसका आफ्नै क्रियाकलाप हुन् ।

श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर गोकुलबासीको रक्षा गर्नु र कालीनागको बध गर्नु जल र जंगल नै मानिसको जीवन हो र यसको संरक्षण गर्नुपर्छ, यसमा विकार गर्नेलाई दण्डित गर्नुपर्छ भन्ने सन्देश हो । अहिले जलवायु परिवर्तनका कारण विश्वमा उत्पन्न भैरहेको विनाशमा कमी ल्याउन यति तथ्य बुझे सबैको कल्याण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button