एन आर एन न्युज

उच्चस्तरीय समितिद्वारा एनआरएनएलाई नगद तथा जिन्सी हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सर्वोच्च अदालतको आदेश अनुसार महाधिवेशनबाट निर्वाचित भएको महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई बुझबुझारथ गरेको छ ।

शुक्रबार शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले श्रेष्ठको अध्यक्षतामा गठन भएको एनआरएनए कार्यसमितिलाई ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको हो।

राजधानीमा भएको विशेष समारोहबीच उक्त रकमसहित सम्पत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भर्चुलअ माध्यमबाट समेत विश्वभरका एनआरएनहरु जोडिएका थिए ।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएर रहेका नेपालीहरूको साझा परिवार हो। यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएको छु।”

समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिले गत वैशाखमा निर्वाचन गराएपछि वचन भएको ८३ लाख ६२ हजार २ सय २८ रुपैयाँका साथै कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी सम्पत्तिहरू समेत नयाँ नेतृत्वलाई जिम्मा दिइएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा आउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले कतिपय कठिनाइको बीचमा काम गरेका छौँ। तर, पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै छोडेनौँ। अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हुनेछ।”

अध्यक्ष श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नरहेको र रोकिने स्पष्ट पार्दै आधिकारिक एनआरएनए आफूहरु नै भएको भन्दै छिट्टै कार्यालयबाटै काम गरिने समेत दाबी गर्नुभयो ।

यसै गरी पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएकामा जोड दिनुभयो ।

उहाँले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै सो नागरिकता कार्यान्वयनका साथै समग्र विषयमा आवाज उठाउन पनि एकताबद्ध एनआरएनए हुनुपर्नेमा जोड दिनुभयो ।

यसै गरी नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राख्दै नयाँ कार्यकाललाई सहकार्य र साझेदारीको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए। उनीहरूले प्रवासी नेपालीहरूको नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रबर्द्धन र आपत्कालीन अवस्थामै सहयोग पुर्‍याउने अभियानलाई प्राथमिकता दिने बताउनुभयो ।

भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी समितिका सदस्य तथा पूर्वअध्यक्ष देवमान हिराचन, सदस्य विनोद कुँवर, अभियन्ता आरके शर्मासहित अन्य वक्ताहरूले पनि महेश श्रेष्ठ नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन आग्रह गरे। यस्तै कार्यक्रममा एनआरएनए सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुंगानालगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.