प्रदेशमधेश

कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आज सिरहाको लहानमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

पहिलो चरणमा जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण गर्ने मेसिन जडान भई परीक्षण भइरहेकामा अब प्रदेशका आठ वटै जिल्लामा कोरोना परीक्षण मेसिन खरिद गर्न रकम निकाशा भइसकेको बताउनुहुँदै मुख्यमन्त्री राउतले ५० वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

“कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुन नदिन प्रदेश सरकारले हरेक उपाय अपनाएको छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “जनताको जीवनभन्दा कुनै पनि कुरा ठूलो होइन, त्यसैले हामीले जनताको जीवन रक्षामा गम्भीरता पूर्वक लागेका छौँ ।” जनता बाँचे मात्रै विकासको कुनै अर्थ हुन्छ, त्यही भएर हामी अहिले सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र रोकथाममै केन्द्रित गरेको मुख्यमन्त्री राउतको भनाइ थियो । सबै जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनको व्यवस्था मिलाउन आवश्यक रकम पठाइसकिएको उहाँले बताउनुभयो ।

सीमा नाकामा कडाइ गर्न नसक्दा प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुहुँदै उहाँले आफूहरूले कोरोना फैलिन नदिन प्रयास गर्दा गर्दै केही कमजोरीका कारण स्थिति नियन्त्रण बाहिर गएको जिकिर गर्नुभयो ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनबाट मारमा परेका विपन्न, मजदुर र गरिब परिवारलाई राहत वितरणका लागि प्रदेश सरकारले समयमै रकम जिल्ला जिल्लामा पठाए पनि उचित व्यवस्थापन गर्न नसक्दा प्रभावकारी नभएको बताउनुहुँदै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रण, रोकथाम र राहत वितरणका लागि महत्वपूर्ण निर्णय गरेपनि कार्यान्वयन हुन नसकेकाले समस्या भएको उल्लेख गर्नुभयो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी अघि बढिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सबैसँग समन्वय गरिरहेको बताउनुभयो ।

बैठकमा पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.