जन सरोकार

नेपालमै थियो एसियाको पहिलो सुरुङ मार्ग र दोस्रो विद्युत गृह

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएकोचुरियामाई सुरुङमार्ग

एसियाली मुलुकहरुमा सुरुङमार्गको चर्चा हुँदैगर्दा, जलविद्युत उत्पादन एकाध मुलुकमा हुँदा नेपालमा ती दुबैको काम समपन्न भैसकेको थियो । सुरुङमार्ग र जलविद्युत उत्पादन नेपालमा सय वर्षअघि नै भए पनि आज भने नेपालको भौतिक पूर्वाधार विकासको गति कमजोर छ ।

यस्तोमा नेपालका ऐतिहासिक ती आयोजनाहरुलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तयारी वाग्मती प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गरेपछि बाह्य एवं आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्न सकिने सोच प्रदेश सरकारले अघि सारेको छ । विसं १९६८ मा निर्माण गरिएको जलविद्युत् आयोजना चन्द्रज्योति विद्युत् गृह एशियाको दोस्रो र नेपालकै पहिलो हो । दक्षिणकाली नगरपालिकामा पर्ने यो जलविद्युत् गृहलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको जनाइएको छ ।

रु सात लाख १३ हजारको लागतमा निर्माण भएको यो आयोजनाको विद्युत् फर्पिङबाट उत्पादित विद्युत्लाई ११ केभी वितरण प्रणालीद्वारा काठमाडौँ उपत्यकामा आपूर्ति गरिएको थियो । बेलायत सरकारको आर्थिक सहयोगमा यो आयोजना निर्माण भएको थियो ।

विसं १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत् गृह नेपालको दोस्रो जलविद्युत् आयोजना हो । यहाँबाट विसं १९९१ देखि जलविद्युत् उत्पादन शुरु भएको थियो । सरकारकै स्रोतमा निर्माण भएको भने यो पहिलो आयोजना हो । यहाँबाट ६४० किलोवाट विद्युत् उत्पादन भएको छ । यो आयोजना गोकर्णेश्वर नगरपालिका–१ मा पर्छ । वाग्मती नदीबाट ल्याएर सुन्दरीजल बसपार्क नजिकैको आयोजनामा विद्युत् निकाली बाँकी रहेकोे पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा पिउनका लागिसमेत वितरण गरिरहेको छ ।

दक्षिण एशियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्ली जङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल यो मार्गको २८० मिटरमात्र बाँकी रहेको जनाइएको छ । यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो छ ।

टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङमार्गबारे चर्चा गरेका छन् । उनले यसलाई एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुनसक्ने बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ । पहाड नै खोपेर बनाइएको सुरुङको फिनिसिङ चुनासुर्की लगाएर गरिएको छ । त्यतिबेला सिमेन्ट प्रयोगमा थिएन । सुरुङमार्गको सडकतर्फ भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । यसको पनि वैज्ञानिक प्रयोजन हुनसक्छ ।

पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेको छ । सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ ।

तीनैवटा सम्पदाको सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास एवं संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको पनि उहाँले सुनाउनुभयो ।

सम्बन्धित खबर

Back to top button