जन सरोकार

कसले गर्यो महाकवि देवकोटाको सालिक तोडफोड

झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा भेटिएको छ ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताउनुभयो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताउनुभयो । “सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,” थापाले भन्नुभयो, “पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ ।”

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गर्नुभएको छ । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गर्नुभयो । केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.