प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । निजामती दिवस भदौ २२ गते मनाइँदैछ ।

उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो ।
सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्नसमेत आग्रह गरेको छ ।
त्यस्तै यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ ।
सरकारले निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली अनुसार कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्