जन सरोकार

पारिवारिक विवाद कुटपिटमा परिणत, एक महिलाको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।

भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताउनुभयो । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।

त्यसै गरी सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ ।

गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button