प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्यले पार्टी छाडेर नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । १० जनाले पार्टी छाडेसंगै नेकपा एमाले अल्पमतमा परेको छ ।

बुधबार १० जनाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका हुन् । सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो ।
प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू) पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई रहनुभएको छ ।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा (एकीकृत समाजवादी)मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्