जापानबाट नेपाल पठाइयो पिसीआरभन्दा भरपर्दो र छिटो 'एन्टिजेन किट'
जापानबासी नेपालीहरुको पहलमा कोरोना भाइरस कोभिड १९ परीक्षणको लागि सात हजार थान एन्टिजेन किट नेपाल पठाइएको छ । पिसीआर परीक्षणभन्दा सहज तथा भरपर्दो मानिने यो एन्टिजेन किटले ३० मिनेटमा कोरोना भाइरस संक्रमण भए नभएको नतिजा दिन सक्ने बताएको छ ।
एनआरएनए अभियन्ता कपिलदेव थापाको पहलमा सेप्टेम्बर २ तारिख नेपाल एयरलायन्सको विमानमा किट नेपाल पठाइएको हो । जापानको प्रतिष्ठित फुजिरेबायो इन्क कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरी ग्लोबल नेपाल ट्रेडिङ् एण्ड कन्सल्टेन्सी र एनआरएनए जापानको सहकार्यमा किट नेपाल पठाएको सहजकर्ता थापाले जानकारी दिनुभयो ।
फुजिरेबायो इन्क कम्पनीले २१ करोड बराबरको ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमति भएको छ । फुजिरेबायो इन्क कम्पनीका कार्यकारी निर्देशक गोकि ईसिकावाले कोभिड १९ संक्रमण बढ्दै जाँदा परिक्षणका लागि सहजीकरण गर्ने उद्देश्यले सहयोग गरेको बताउनुभएको छ ।
सो सामान पठाउनका लागि एनआरएनए आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आईसिसी मानर्थ सदस्य कपिलदेव थापा, एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगीता अधिकारी नारिता विमानस्थलमा पुगेका थिए ।
प्रतिक्रिया राख्नुहोस्