राजनीति

समानान्तर गतिविधि गर्नेमाथि विवेकशीलले कारबाही गर्ने

विवेकशील साझा पार्टीले पार्टीभित्र समानान्तर गतिविधि गर्नु अवैध भएको ठहर गर्दै त्यस्तो कार्य नगर्न चेतावनी दिएको छ । आज समपन्न पार्टीको केन्द्रीय समितिको बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा भएको भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता थियो । बैठकले त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

त्यसै गरी पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button