अर्को सातादेखि विद्यालयहरु खुल्ने
काठमाडौंमा आगामी साताबाट विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सकिने
कोरोना भाइरस संक्रमण घट्दै गएको र खोप लगाउनेहरुको संख्या बढ्दै संक्रमणको जोखिम कम हुदै गएपछि राजधानी उपत्यकामा भौतिक उपस्थितिमै विद्यालय संचालनको तयारी भएको छ ।

गत बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालय सञ्चालन गर्दा स्थानीय तहहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका छन् ।
यसअघि गोकर्णेश्वर नगरपालिकाले गत मंगलबारदेखि विद्यालय संचालन गरिसकेको छ । डिसीसीएमसीको निर्देशनपछि काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सकिने जनाएको छ ।
महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले अझै एक/दुई दिन कोरोनाको जोखिमको अवस्था हेरेर विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न सकिने बताउनुभयो ।
महानगरपालिकासँग संस्थागत र सामुदायिक विद्यालयहरुले नियमित कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेको पनि सुवेदीले बताउनुभयो । यदि विद्यालयहरु सञ्चालन गर्ने अवस्था सृजना भएको खण्डमा विद्यालयहरुले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने र महानगरले त्यसको अनुगमन गर्ने उहाँ बताउनुहुन्छ ।
यस्तै भक्तपुर नगरपालिकाले पनि विद्यालयह सञ्चालनको लागि गृहकार्य थालेको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शिक्षा समितिको बैठक बसेर नगरभित्रका विद्यालयह कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भैरहेको बताउनुभयो ।
बुधबार मात्र निजी विद्यालयहरुसँग र विहीबार सरकारी विद्यालयसँग बसेर छुट्टाछुट्टै छरफल गरेको उहाँको भनाई छ । छलफलमा निजी र सामुदायिक विद्यालयहले आफूहरुले भौतिक रुपमै कक्षा सञ्चालन गर्न पाउनुपर्ने अडान राखेको उहाँले बताउनुभयो ।
यस्तै लतिलपुर महानगरपालिकाले पनि विद्यालय सञ्चालन कसरी गर्ने भन्ने विषयमा महानगरभित्रका विद्यालयहरुसँग राय सुझाव संकलन गरेको जनाएको छ ।
महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पन्थीका अनुसार कोरोनाको संक्रमणको जोखिमलाई नियालेर केही दिनमा निर्णय गरीने बताउनुभयो । विभिन्न विद्यालयहबाट प्राप्त रायका आधारमा आफूहरूले निर्णय गर्ने उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले पनि अब भौतिक रुपमै कक्षा सञ्चालनको प्रकृया थाल्ने जनाएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषालले सबै क्षेत्र खुलेकाले आफूहरूले पनि भौतिक रुपमै कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्