जल/वातावरण

कोरोना संक्रमितको संख्या र मृत्यु अहिलेसम्मकै सबभन्दा बढी

शुक्रबार नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने मृत्यु पनि अहिलेसम्मकै बढी भएको छ । वितेको २४ घण्टामा गरिएको परीक्षणका क्रममा एक हजार ३ सय ५९ जनामा संक्रमणको पुष्टि भएको छ भने यही अवधिमा १४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।

पछिल्लो २४ घण्टामा थपिएकामध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ५४ जना रहेका छन् । तीमध्ये काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गरिएको छ । हिजो बिहीबार एकैदिन १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएका थिए । यी सहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका र हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

सम्बन्धित खबर

Back to top button