जन सरोकार

औषधीय गुणदेखि चुम्बकीय शक्ति हुने कुशको यस्तो छ महत्व

आज कुशे औंशी, घरघरमा कुश भित्र्याइन्छ । कुशको बहुविध गुण भएकैले यसलाई उच्च महत्व दिइएको हो । कुश केवल देव तथा पितृकार्यमा प्रयोग हुने कुश बहुऔषधीय अति प्रभावकारी तत्वहरुका साथमा यसमा हुने चुम्बकीय शक्तिले मानिसको रक्षार्थ धेरै काम गर्दछ भन्ने तथ्य शास्त्रीय रुपमा त थियो नै अहिले वैज्ञानिक रुपमा पनि पुष्टि भएको छ ।

त्यस कारण यसको महत्व आजभोलि अरु बढेको छ, यो केवल हिन्दुहरुले देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने रुढीवादी परम्परा नभएर यसको प्रयोगले मानिसमा हुने सकारात्मक प्रभावबारे पनि प्रकाश भएको छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि कुशलाई हरेक कार्यका लागि अनिवार्य एवं पवित्र वस्तु मानिन्छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग दाद, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ ।

कुश रोप्ने र काट्ने विशेष पर्व नै स्थापित गरिएको छ । श्रावण शुक्ल चर्तुदशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औशी (कुशे औंसी)का दिन काट्ने गरिन्छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार जालन्धर राक्षसकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिने क्रममा झार र ढुंगााको जन्म होस भनेकाले विष्णुको कुशको रुपमा जन्म भएका उल्लेख छ ।

यसैगरी, ब्रह्माले उत्पत्ति गरेका विभिन्न सन्ततिहरु जस्तै कुशको पनि उत्पति गरेको र यसले ति सन्ततिलाई काम गर्न सहज होस भनेर उत्पत्ति गराएको पुराणहरुमा उल्लेख छ ।

कुशलाई औषधिय रुपमा प्रयोग गरिन्छ । कुशलाई मासुमा राखेर खाने हो भने उच्च रक्तचाप भएका तथा युरिक एसिड भएकालाई फाइदा पुग्ने आयुर्वेद चिकित्सक बताउँछन् । कुश घरको मुल ढोका बाहिर माथि झुण्डयाउदा खराब तत्वहरु घर भित्रिदैन भन्ने मान्यता वास्तुशास्त्रमा उल्लेख छ ।

कुशमा चुम्बीय शक्ति हुने हुँदा यसले मानव शरीरलाई स्थिर बनाउन ठूलो मद्दत गर्दछ । कुश धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानव देहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

कुशको वैज्ञानिक नाम Eragrostis cynosuroides हो । कुश पृथ्वीमा उम्रने भए पनि यसको बीउ अन्तरिक्षबाट आएको मान्यता पनि रहेको छ । एक धार्मिक मान्यता अनुसार कुशलाई जानकी सीताको कपाल पनि भनिन्छ । जब सीताले अयोध्यामा धर्ती समाधी लिन लागिन तब श्रीरामले सीतालाई रोक्न समाउन जाँदा केवल सीताको कपाल मात्र हातमा आयो र कालान्तरमा त्यही कपाल कुशमा परिणत भयो ।

कुश चौपायाको आहारमा कहिल्यै प्रयोग हुँदैन, त्यसकारण यो अमर छ र अमर हुनुका कारण पनि त्यत्तिकै सारगर्भित छन् । मानव शरीरलाई स्वस्थ र स्थिर राख्न कुशको महत्व त छँदैछ यसको उचित प्रयोग गरे समृद्धि समेत बढ्ने धार्मिक विद्वानहरुको कथन छ । उनीहरु कुशलाई रातो कपडामा बेरेर घरमा राख्नाले समृद्धि कायम रहन्छ ।

हुन पनि हरेक वर्षका कुशे औंसीमा भित्र्याइने कुशलाई रातो कपडाले बेरेर दलिन वा उच्च स्थानमा राख्ने चलन अहिले पनि छ । यति शक्तिशाली भएकै कारण कुनै विशेष कार्य गर्नुपर्दा कुशको चकटीमा बस्ने, कुसको औंठी लगाउने गरिन्छ । यसको एउटै कारण भनेको कुशमा भएको चुम्बकीय शक्तिले मानिसको मानसिक र शारीरिक सन्तुलन कायम राख्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button