संसदमै लाग्यो सभामुख सापकोटालाई गम्भीर आरोप, एमाले सांसदले गरे नाराबाजी
प्रतिनिधिसभाको आज सुरु भएको बैठक नेकपा एमालेले अबरोध गरेको छ । बैठकको सुरुवातमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गर्दै रोष्टम घेराउ गरेको छ ।

बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले विभाजन गर्न सभामुख सापकोटा मतियार बनेको गम्भीर आरोप लगाउनुभयो ।
उहाँले यसअघि नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले आफ्ना सांसदलाई कारबाही गरेको पत्र पठाएको केही घण्टामै कार्यान्वयन गरेको र नेकपा एमालेले कारबाहीको जानकारी दिएको १३ दिनसम्म चुप लागेर बसेको आरोप लगाउनुभयो ।
उहाँले सभामुख सापकोटाका लागि जनता समाजवादी दल र नेकपा माओवादी केन्द्र एक किसिमका र नेकपा एमाले अर्को किसिमको दल भएको हो र भन्ने प्रश्न गर्दै एमाले फुटाउन संसद र निर्वाचन आयोग नै लागिपरेको आरोप लगाउनुभयो ।
सचेतक भट्टराईका मन्तव्य सकिएलगत्तै एमाले सांसदहरु रोष्ट्रममा आएर नाराबाजी गरेका थिए । पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमाले सांसदहरुले लगातार नारावाजी गरेपछि सभामुख सापकोटाले जंगिदै सो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताउनुभयो । त्यस्तै उहाँले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत हुने बतानुभयो ।
एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को स्वरमा सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो- “माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला । ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।”
प्रतिक्रिया राख्नुहोस्