प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
“हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ ”, अध्यक्ष दाहालले भन्नुभयो, “तर देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्याङ्कन भएन । देश र जनता हितका खातिर सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”
उहाँले आफूहरु शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको दाबी गर्नुभयो ।सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उहाँले बताउनुभयो ।
सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिङ्गो पार्टीपङ्क्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्