खोला किनारको २० मिटर छोड्नुपर्ने फैसला पुनरावलोकनको लागि सरकार गृहकार्यमा
सरकारका मुख्यसचिव एकनारायण अर्यालले खोला किनारको संरचनाको मापदण्डबारे सर्वोच्च अदालतको फैसलामा केही राम्रा कुरा आए पनि संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने फैसला पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्यसचिव अर्यालले अदालतको फैसलाले काठमाडौं महानगर र सरकारले गर्नुपर्ने केही राम्रा कुरा आए पनि २० २० मिटरको प्रावधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था पनि रहेको भन्दै पुनरावलोकन आवश्यक रहेको र यस सम्बन्धमा सरकारको धारणा पेश गर्ने तयारीमा काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्छ । केही कुराहरु राम्रा कुरा आएका छन् । महानगर र सरकारले गर्नुपर्ने केही विषयहरु छन् । केही कुराहरु कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था छ । त्यो विषयमा सरकारको टिमले काम गरिरहेको छ । त्यही अनुसारमा अदालतमा सरकारको धारणा पेश गर्ने तयारी छ ।’’
मुख्य सचिव अर्यालले चेम्बरका पदाधिकारीहरुसंग चाडपर्वको समयमा वस्तुको मूल्यवृद्धि र अभाव गराउने व्यवसायीहरुलाई सरकारले छुट नदिने बताउँदै त्यो विषयमा चेम्बरले आफ्ना सदस्यहरुलाई त्यस्तो गर्न हुँदैन भनेर सूचना दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्