जन सरोकार

नगरपालिकाहरुका निष्कर्ष नाकामा सेना, निषेधाज्ञा खुकुलो : प्रशासन गम्भीर छलफलमा

आज भदौ २४ गते बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि सकिंदैछ । निषेधाज्ञा सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले गम्भीर छलफल थालेको छ । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा बिहानैदेखि विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिनुभयो । उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच पनि छलफल भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेको र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिसँग समेत सुझाव लिइएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

मंगलबार साँझ गृह मन्त्रालयसँग समेत परामर्श लिइएको उहाँले जानकारी दिनुभयो । “विभिन्न कोणबाट सुझाव आएको छ, त्यसलाई एकीकृत गरेर एउटा निर्णयमा पुगिन्छ”, प्रजिअ दाहालले रासससँग भन्नुभयो, “सहजीकरण गर्नेतर्फ ध्यान गएको छ ।” उपत्यका नगरपालिका फोरमले भने खुकुलो बनाउन सुझाव दिइसकेको छ भने निजी क्षेत्रले पनि व्यवसाय चलायमान बनाउन माग गर्दै आएको छ । काठमाडौँ उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । भोलि बुधबार राति १२ बजेदेखि निषेधाज्ञाको अवधि समाप्त हुँदैछ ।

मंगलबार नै उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ । फोरमको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्न सुझाव दिएको छ ।

काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न पनि बैठकले माग गरेको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यका भित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भएपनि कडाई गर्न सङ्घीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने बताउनुभयो । महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरेको ललितपुरका महानगरका प्रमुख महर्जनले बताउनुभयो ।

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “भदौ २५ गतेबाट उपत्यका प्रवेशका सबै प्रवेश विन्दुमा कडाई गरी जोखिम न्यूनिकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कतासाथ स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जाने निर्णय गरेका छौँ ।’

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको थियो । पाँच हजार बेडको क्वारेन्टिन र ६ हजार बेडको आइसोलेशन बनाउने ठाउँ पहिचान भएको पनि सो अवसरमा जानकारी दिइयो । निषेधााज्ञासँगै रोकिएको स्थानीय तहको सेवा भदौ २५ देखि नियमित गर्ने निणय बैठकले गरेको छ ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि पटक–पटक उपत्यका प्रवेश नाकामा कडाई गर्न र उपत्यका भित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आउनु भएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.