कोरोना महामारीकाबीच चितवन राष्ट्रिय निकुञ्जमा तस्कर सक्रिय ?
चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ । निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको थियो । बरालले भन्नुभयो “खाग र खुर भने सुरक्षित भेटियो”, उहाँले थप्नुभयो “शङ्कास्पद भयो, तस्करले होईन भन्न सक्ने अवस्था रहेन ।”
तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ । वि. सं. २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन । निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो ।
मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए । तीन देखि चार ईन्चका ती प्वाल के कति कारणले भएको एकिन नभएको उहाँले जानकारी दिनुभयो । करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ । तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् ।
खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय वनेको छ । निकुञ्जमा साउन यता प्राकृतिक कारणले तीन गैंडा मरेका छन् । सशस्त्र द्धन्द्धमा तस्करले एकै वर्षमा ३६ वटा सम्म गैंडा मारेका थिए । पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत वनाए पछि तस्करले गैंडा मार्न नसकेका हुन ।
गत आर्थीक वर्षमा गैंडाको गणना गर्ने भनिएको भएपनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्