“जेनजीसहितको सरकार गठनका लागि सांसदबाट राजीनामा दिन तयार रहनु” : लामिछाने
नख्खु कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीसहितको अन्तरिम नागरिक सरकार गठनको माग गर्दै राजीनामा दिन तयार रहन आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
भदौ २३ गते सोमबार जेनजी आन्दोलनमा १९ जना युवाको मृत्यु भएसँगै सरकारले वैधता गुमाएको भन्दै उहाँले सो माग र निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सभापति लामिछानेले कारागारबाट आफ्नो निजी सचिवालयसँग टेलिफोनममा कुरा गर्दै सरकारमा बसेकाहरूलाई माफी दिन नसकिने र सत्तामा बस्न दिन बताउँदै सो धारणा सार्वजनिक गर्नुभएको हो ।
उहाँले आज दिउँसो (भदौ २३)नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात् दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको पनि उहाँले जानकारी गराउनुभएको छ ।
वर्तमान विषम परिस्थितिको सम्बोधन गर्न तीन बुँदे सुझाव प्रस्तुत गर्दै जेनजी युवाहरूसहितको अन्तरिम सरकार गठन हुनुपर्ने, ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा, संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति गठन हुनुपर्ने सुझाव दिनुभएको छ ।
लामिछानेको अपिल
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए। यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।
आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।
म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो । Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।
यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।
कालकोठरीबाट भए पनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ। ती यस्ता छन् :
१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।
२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।
३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।
४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।
यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।
सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।
देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु ।
यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला।
गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।
प्रिय रास्वपाका सांसदहरू, उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला ।
रवि लामिछाने
सभापति
नक्खु कारागार, ललितपुर




प्रतिक्रिया राख्नुहोस्