शहीदको बलिदान व्यर्थ हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी आन्दोलनले उठाएको सुशासन, पारदर्शिता र उत्तरदायी शासनको अभियानलाई सरकारले व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रथम जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ, “प्रिय जेनजी, सुशासन कायम हुने नै छ। शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।”
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि दर्जनौँ युवाले ज्यान गुमाएका थिए। त्यसपछिका घटनाक्रमले मुलुकको राजनीतिमा ठूलो परिवर्तन ल्याएको थियो।
तत्कालीन सरकारले राजीनामा दिएपछि अन्तरिम सरकार गठन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ बहुमत हासिल गरेपछि प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाह नियुक्त हुनुभएको थियो।
नयाँ सरकारले जेनजी आन्दोलनको मूल भावना अनुरूप सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ।
प्रधानमन्त्री शाहले जेनजी आन्दोलन केवल सत्ता परिवर्तनका लागि नभई राजनीतिक संस्कार, शासनशैली र राज्य सञ्चालनको चरित्र परिवर्तनका लागि भएको उल्लेख गर्दै शहीदहरूको बलिदानलाई व्यर्थ हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको छ।
सरकारले यस वर्ष पहिलो पटक जेनजी शहीद दिवस का अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा स्मरण कार्यक्रम आयोजना गरी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको योगदानको सम्मान गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्