जन सरोकार

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुटे अभिभावक

विद्यालय बन्द रहेका बेला नवलपरासीको एक विद्यालयका प्रिन्सिपलले अभिभावकलाई कुटपिट गरेका छन् । समाचार अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।

उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको प्रिन्सिपल कुँवरले कुटपिट गर्ने क्रममा लडेर खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।

भरतका अनुसार प्रिन्सिपल कुँवरले आठ वर्षसम्म बिर्सिएको पुरानो बक्यौता शुल्क लकडाउनका बेला तिर्न दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए ।

परीक्षामा दुई दाजुभाइ अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतको दाबी छ । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भने पनि नमानेर कुटपिट गरेको उनले बताए ।

आरोपी प्रिन्सिपल फरार

घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबमा नलिइएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)मा उजुरी दर्ता भएको छोरा भरतले बताए । प्रिन्सिपल कुँवर कांग्रेसका पुराना स्थानीय कार्यकर्ता हुन् ।

भदौ ९ गते जिल्ला प्रहहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भए पनि प्रहरीले कुँवरलाई अझैसम्म पक्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई पक्राउ नगरिएको पीडित परिवारको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाले अनुसन्धान भइरहेको तर पीडक फरार रहेको बताए । प्रिन्सिपल कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच्ड अफ छ ।

उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले प्रिन्सिपल कुँवरमाथि झुट्टा मुद्दा लगाइएको र घटनालाई आपसी समझदारीमा मिलाउन सकिने अवस्था हुँदाहुँदै मिडियाबाजी गरिएको दाबी गरेको छ ।

सम्बन्धित खबर

Back to top button