राजनीति

ओली प्रचण्डको निष्कर्ष : पार्टीद्वारा संचालित प्रतिष्ठानहरु गुटबन्दीको केन्द्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बढ्दो गुटबन्दी र पाटी विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट एउटै प्रस्ताव तयार भएको छ । उहाँहरुको प्रस्तावमा अध्यक्षद्वयले विभिन्न नेताका नाममा बनेका प्रतिष्ठान गुटवन्दीको माध्यम बनिरहेको निष्कर्ष निकालिएको छ ।

पार्टी एकता कायम राख्न अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकमा पेश गर्न तयार गरिएको प्रस्तावमा यस्ता प्रतिष्ठान वा संघ संस्था व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्ने उल्लेख गरिएको छ ।

यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा कृयाकलापका बारेमा तथ्यपरक जानकारी पार्टीले लिने पनि प्रस्ताव गर्नुभएको छ ।

यस्तो छ प्रतिष्ठानका विषयमा उल्लेख प्रस्ताव

‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ संस्थाहरु परिचालित छन् । यी मध्ये अधिकाँश गुटवन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्ने । त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा कृयाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने ।

सचिवालयले प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिना भित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेश सहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात्त्यस उपर छलफल गरी आवश्यक निर्णय लिने । तब सम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनैपनि प्रष्ठिानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।’

सम्बन्धित खबर

Back to top button