जन सरोकार

देशभर संक्रमितको संख्या ५० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै १० हजार बढी

मुलुकको संघय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेका बेला दैनिक गुजारादेखि आथिक गतिविधिमा समेत ठूलो असर परिरहेको छ । देशकै राजधानी र अर्थतन्त्रको केन्द्र भएकाले यहाँ बिहिबारदेखि नै निषेधाज्ञा निकै खुला गरी जनजीवन सहज बनाउने प्रयास भएको छ, तर संक्रमणको जोखिम भने उच्च नै छ ।



नेपालमा बिहिबार साँझसमम कोरोना संक्रमितको संख्या ५० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै १० हजारभन्दा बढी संक्रमित भएका छन् र संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् । यस्तै अहिलेसम्म मृत्यु भएकाहरुमा काठमाडौंमा ४५, भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६२ जना रहेका छन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बाक्लो जनघनत्व रहेको काठमाडौं उपत्यकामा पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको छ । बिहीबार मात्रै काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदा पनि संक्रमितको संख्यामा कमी नदेखिएपछि यसलाई खुकुलो गर्ने निर्णय गरिएको छ । निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौंको जनजीवन सामान्य अवस्थामा फर्केका देखिए पनि जोखिम भने अरु बढेको छ । कोरोना संक्रमण रोक्न निषेधाज्ञा बाहेक अरु कुनै उपाय नअपनाइँदा आम जनजीवन अति प्रभावित भएपछि सरकारको व्यापक आलोचना भैरहेको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ र काठमाडौंमामा मात्रै ८ हजार १ सय ८ जना संक्रमित रहेका छन् । त्यस्तै ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित खबर

Back to top button